पढ्न नपाएकी धन रेग्मी श्रीमानकी ‘अंग्रेजी गुरू’ - News site from Nepal
पढ्न नपाएकी धन रेग्मी श्रीमानकी ‘अंग्रेजी गुरू’

हजुरआमाका कथा

ठमेलको प्याकुर्‍याल परिवारमा जन्मिएकी धन रेग्मी १२ वर्ष उमेरसम्म पुतली खेलेर हुर्किइन्।

उनी पुतलीको बिहे गरिदिन्थिन्। त्यतिबेला पातलो प्लास्टिकको पुतली पाइन्थ्यो, जसलाई ‘आलु पुतली’ भनिन्थ्यो। ती पुतलीलाई उनी लुगा लाइदिन्थिन्। हातगोडा नभएकालाई झुम्रो बटारेर बनाइदिन्थिन्। उनका दिन यसैगरी बित्थे।

‘मेरो साथी कस्तुरी मैँयाको पुतलीसँग मेरो पुतलीको बिहे हुन्थ्यो,’ ८६ वर्षीया धनले सम्झिँदै सुनाइन्, ‘म उनलाई कान्छी दिज्यू भन्थेँ। हाम्रो पुतली पालैपालो दुलाहा-दुलही बन्थे।।’

पुतली बिहे खेल थियो। तर केटीपट्टीबाट गरिने व्यवहार ‘साँच्चै जस्तो’ गर्नुपर्थ्यो रे। यो बिहे चटारोमा धनकी आमाले साथ दिन्थिन्।

‘मेरो पुतली दुलही हुँदा आमाले खानेकुरा बनाइदिनु हुन्थ्यो,’ उनले भनिन्, ‘पुतलीको भए पनि बिहे साँच्चै जस्तो हुन्थ्यो।’

दुलही पक्षले वास्तविकमा झैं जिम्मेवारी पूरा गर्नुपर्ने पुतली बिहे खेल त्यतिबेलाका छोरीलाई बिहे गरेर गएपछि चाहिने व्यवहारिक ज्ञान दिइने माध्यम थियो सायद।

धन पुतलीबाहेक भाँडाकुँटी, गट्टा खेल्थिन्। यी सबैमा फुक्का भए पनि पढ्न ‘वर्जित’ थियो। उनी आफ्नो बाल्यकाल नरमाइलो भएको वा दु:खमा बिताएको कुनै क्षण पाउँदिनन्। मनमा पढ्न नपाएको पीडा भने किलो ठोके जसरी यो उमेरसम्म पनि बसेको छ।

भन्छिन्, ‘स्कुल जान नपाउनु नै जीवनको सबभन्दा ठूलो दुःख हो मेरो।’

राजधानी सहर काठमाडौंमै जन्मिएकी राम्रै परिवारकी छोरी हुन् धन। जीवनका धेरै सुख-सुविधा पाइन्। पढ्न भने पाइनन्।

उनका पालामा धेरै स्कुल थिएनन्। मखनमा एउटा थियो। उनले बुबासँग त्यहाँ जान्छु भनिन्। बुबाले त्योबेलाको समाज हेरेर जान दिएनछन्।

‘हेर बा, बिहे नभएकी बाहुनकी छोरी यसरी बाहिर हिँड्नु हुँदैन। बिहेपछि घरबाट पढाउन माने पढौली। तर हामीले चाहिँ हुँदैन,’ बुबाले भनेका कुरा धनले सुनाइन्।

तै उनलाई घरैमा अलिअलि अक्षर भने चिनाएछन्।

‘मलाई जीवनमा केही दुःख भएन। पढ्न नपाउनु नै सबभन्दा ठूलो दुःख लाग्छ,’ धन भन्छिन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी

पढ्ने हुटहुटी मनमा साँच्दासाँच्दै एकदिन उनलाई आमाले भनिछन्, ‘बिहे गर्न लाको तेरो। हाम्रो बाहुन परिवारमा ‘पर नसरी कन्यादान’ गर्नुपर्छ। राम्रो घरपरिवारबाट माग्न आको छ। दिन लाको नानी तँलाई,’ आफ्नो बिहे हुनेबेलाको कुरा उनले सम्झिँदै भनिन्, ‘मलाई पढ्न किन नपठाको भनेको त बिहे पो गर्दिन लाग्या रैछ।’

पुतलीको बिहे खेलिरहेकी धनको आफ्नै बिहे भयो। उनी १२ वर्षकी थिइन्। उनका श्रीमान पुरुषोत्तम रेग्मी १७ वर्षका।

‘अनि रमाइलो लाग्यो त बिहे?’

‘बिहेको रमझम त रमाइलै थियो नि। झ्यामझ्याम बाजा बजाएर धुमधामसित गरेको नि त,’ उनले सुनाइन्। सायद कलिलो उमेरमा पुतलीकै बिहेमा झै‌ं रमाएकी थिइन्।

‘कति सालमा?’

‘दुई सालमा।’ (बिक्रम सम्वत २००२)

‘त्यतिबेला त जुध्द शमशेरले सामाजिक सुधार गरेका थिए क्यारे! धुमधाम बिहे गर्न पाइन्थेन हैन?’

‘हो, धेरै खर्च गर्न रोक थियो। तर मेरो बिहेताका भने त्यति थिएन। तीन सालपछि भने कडा भयो,’ उनले भनिन्।

सुखमा हुर्केकी धनलाई कर्मघरमा पनि खास दुःख भएन। घर सम्पन्नै थियो। भातभान्साको काम गर्न सहयोगी थिए। चाडवाड वा कुनै अवसरमा काम धेरै भए बाहिरबाट मान्छे बोलाएर गराइन्थ्यो। बुहारीको काम बत्ती कात्ने, पात गाँस्ने, घरका सदस्यलाई मानका साथ खातिरदारी गर्ने लगायत थिए। यी सबै उनलाई माइतीले सिकाइसकेका थिए।

उनका श्रीमान त्यो घरका एक्ला छोरा थिए। सासू भने दुइटा। तर उनी बुहारी भएर आएको चार-पाँच वर्षमा आफ्नी सासूले अरू दुई छोरा जन्माइन्। उनका देवरहरू पनि भए।

छोराको बिहेपछि त घरमा नातिनातिना हुन्छन् अचेल। धनले आफ्नै बच्चा स्याहार्ने दिन आउन लागेको थियो। तर सासूले नै बच्चा जन्माइन्, आजभोलि त अचम्मै हो।

सोधेँ, ‘त्यो पनि जमाना थियो है? सासूलाई सुत्केरी स्याहार्नु पर्दा अचम्म लाग्थेन?’

‘लाग्थ्यो नि। तर माइतमा पनि यस्तै थियो। भाउजू बुहारी भा’ देखिरा हो। त्यस्तै हो भन्ठान्थेँ,’ उनले सुनाइन्।

माइतीले उनलाई ‘पर नसर्दै कन्यादान’ गरेका थिए। असारमा बिहे भएको, मंसिरमा उनी पहिलोपटक रजश्वाला भइछन्। उनलाई घरमै १२ दिनसम्म अँध्यारो कोठामा थुनेर राखियो। पुरुषको मुख हेर्न नहुने। तर उनलाई त्योबेला पनि यस्तो सुविधा थियो, जुन आजभोलि पनि धेरै गाउँघरमा हुन्न। उनी चर्पी जान पाउँथिन्। घरको दलानमै रहेछ।

त्यो जमानामा यो सुविधा ठूलै हो।

सुखमै हुर्केबढेकी रहिछन् धन।

उनको दुःख त एउटै थियो- पढ्न नपाउनु।

संस्कृत मात्र पढेका श्रीमानलाई अंग्रेजी पढ्न हौस्याउने धनलाई उनका श्रीमानले ‘गुरू’ भन्थे रे। तस्बिरः निशा भण्डारी/सेतोपाटी 

‘बुबाले घरकाले पढाए भने पढ्लिस् भन्नुभाथ्यो। ससुराले हुँदैन, पढ्न जान त मिल्दैन। हाम्रो चलनै छैन छोरीबुहारी पढाउने भन्नुभो,’ उनले भनिन्, ‘खाली छोरीबुहारीले यस्तो गर्नु हुँदैन, पढ्नु पाइँदैन भनेको सुन्दा-सुन्दा मलाई त छोरीबुहारी कस्ता हुँदा रहेछन् भन्ने जस्तो लाग्थ्यो। अनि फेरि श्रीमानलाई पनि म बाहिर निस्क्या मन नपर्ने।’

त्यसैले उनी माइत र घर पनि ‘तामदान’ मा आउजाउ गर्दिरहिछन्।

‘तामदान? कहाँदेखि कहाँसम्म जाने त्यसमा?’

‘दुई डोलेहरूले बोक्थे तामदानमा। यहाँबाट (ढल्कु, विशालनगर) तामदान चढेर ठमेल माइत जाने,’ उनले बुझाइन्। उनी हाल पनि विशालनगरमै बस्छिन्।

‘कति समय लाग्थ्यो त यहाँबाट त्यहाँ पुग्न,’ मान्छेले बोकेर पुर्याउने कष्ट सम्झेर समयबारे जान्न चाहेँ।

‘खै, ४५ मिनेट जति लाग्थ्यो कि।’

‘हिँडेर जान हुन्नथ्यो?’

‘हिँडेर गइँदैनथ्यो उस्तो। प्रायः तामदानमै। कुनै दिन हिँडिहाल्यो भने खुट्टा दुख्थ्यो,’ उनलाई सुखै थियो।

‘अनि छोराछोरी?’

‘२० वर्षकी भाथेँ होला पहिलो बच्चा जन्माउँदा। तीन-चारदिनसम्म बेथा लागेर बिरामी भएँ। दुई दिनसम्म ठीकै थियो, पछि दुई दिन त खप्नै गाह्रो। घरैमा थिएँ। कसैले अस्पताल लगेनन्। डाक्टर पनि बोलाएनन्। चार दिनको बेथा पछि यो जेठी छोरी जन्मी,’ आफ्नो छेउमै बसिरहेकी जेठी छोरी विमला ओझालाई देखाउँदै उनले भनिन्। विमला छाला विशेषज्ञ डाक्टर हुन्।

सुत्केरी बार्ने चलन।

‘बच्चा जन्मेको २२ दिनमा मात्र पानी छुन पाइन्थ्यो। गोदान गरेर पानी छोएपछि मात्रै सुत्केरीले छोएको पानी अरूहरूलाई चल्थ्यो। अनि नयाँ बच्चा लिएर माइत जान पनि साइत हेर्नुपर्थ्यो,’ उनले सुनाइन्, ‘राती ९ बजेको साइत छ भने। चिसो हुन्छ भनेर डोलीमा चढेर गएको।’

‘तामदानमा हैन?’

‘डोलीमा हो सुत्केरी हुँदा त। म डोलीमा यसरी सुतेँ, अनि छोरीलाई पनि सँगै सुताएँ,’ उनले सुतेको अभिनय गर्दै सुनाइन्।

‘कति सालको कुरा यो? गाडी थेनन्?’

‘त्यही १० सालतिर होला,’ उनले अनुमान लाउँदै भनिन्, ‘गाडी त चल्थ्यो। आफ्नो थिएन। एउटा-दुइटा भाडाका पाइन्थे। तर त्योबेला नपाएर होला डोलीमा पठाका। पछि छोरीको पास्नीमा त ससुराले आफ्नै गाडी किनिसक्नुभाथ्यो। अनि भने गाडीमै ओहोरदोहोर गर्न थालेम्।’

धन रेग्मी छोरी विमला ओझासँग। तस्बिरः निशा भण्डारी/सेतोपाटी 

‘अनि प्रजातन्त्र आएको याद छ? कस्ता थिए ती दिन?’

‘किन नहुनु, याद छ नि। ओहो राती सुत्न पाँइदैन थियो। शान्ति दलहरू टोलटोलमा हुन्थे। ऊ आउने, त्यो आउने भन्थे रातभर। लोग्नेमानिसहरू रातभरी पालैपालो जागाराम बस्थे।’

‘किन?’

‘लुट्न आउँछ भन्ने डर नि,’ उनले भनिन्, ‘अब बाहिरतिर ‘ल फलानो ठाउँमा लुट्यो रे’ भन्थे। ‘उता यस्तो भयो’ भन्ने हल्ला सुनिन्थ्यो। खास कुरा थाहै हुन्थेन। पत्रपत्रिका पनि हेर्न पाइन्थेन।’

धनका अनुसार त्योबेला अरू पत्रपत्रिका थिएनन्। एउटा गोरखापत्र निस्कन्थ्यो। त्यसमा पनि नराम्रा कुरा छापिन्थेन। पद्म शमशेरले छोडेपछि भने समाचारको दायरा फराकिलो हुँदै गएको उनी सुनाउँछिन्। अरू दुई-तीन वटा पत्रिका पनि निस्कन थाले।

‘जुलस कस्तो हुन्थ्यो?’

‘हामी बहिर निस्केनौं कहिल्यै। घरको झ्यालबाट देखियो भने हेर्‍यो। नभए बाहिर गएर जुलुस हेर्न कहाँ पाउनु। छोरीहरू अहिले जस्तो निस्कन पाउने भए त पढ्नलाई गइहाल्थेँ नि,’ उनले फेरि पढ्न नपाएकै गुनासो गरिन्, ‘यहाँ पढ्न नपाएर पो मार्यो आफूलाई। इच्छा साह्रै थियो। नपाउँदा अलि दिन त छटपटेर गाह्रो भयो। छोराछोरी पढ्न थालेपछि भने उनीहरूसँगै बसेर केही सिकेँ।’

आफूले पढ्न नपाएको पीडा थियो नै, ससुराले ‘अंग्रेजी पढ्यो भने घर बिग्रन्छ’ भनेर छोरा पुरुषोत्तमलाई पनि संस्कृतमात्रै पढाएका रहेछन्। धनले बिहेका पहिलो वर्षमै यो कुरा थाहा पाइन्। उनलाई भित्रभित्रै धमिराले खाएको जस्तो बनाइरहेको रहेछ। घरमा बुहारीले बोल्न नपाउने, श्रीमानलाई ‘अंग्रेजी पढ्नूस्’ भन्न पनि नमिल्ने। सोच्दा-सोच्दा उनले एउटा उपाय निकालिछन्।

एकदिन धनले एउटा कागजमा कलमले किरीमिरी कोरेर श्रीमानको सिरानमुनि राखिदिइछन्। श्रीमानले घर आएपछि देखे। संस्कृत मात्र जानेका उनलाई श्रीमतीले के लेखेर राखिदिएकी होलिन्? भन्ने लाग्यो। नबुझेपछि अंग्रेजी जान्ने गुरूकहाँ लगेर कागज देखाएछन्। गुरूले हेरे। धर्साहरू मात्र कोरिएका देखे। 

श्रीमानले घर आएर भनेछन्, ‘त्यसमा त केही लेखेको रहेनछ त।’

धनले भनिछन्, ‘आफूले अंग्रेजी पढ्न जानेको भए अरूलाई सोध्न जानुपर्थ्यो?’

त्यसपछि उनका श्रीमानले आफ्ना बुबालाई नभनी गुरुकहाँ गएर अंग्रेजी ट्युसन पढ्न थालेछन्। उनी त्यही १७/१८ वर्षका थिए रे। पछि नक्सालको नन्दी रात्री विद्यालय भर्ना भएर एसएलसी पास गरे। पढ्दै गएर उनी तत्कालीन श्री ५ सरकारको कर्मचारी भए। गृह सचिव भएर अवकाश पाएका थिए।

श्रीमानलाई पढ्न हौस्याएका ती क्षण सम्झिँदै धन भन्छिन्, ‘१७ वर्षसम्म पनि उहाँलाई अंग्रेजी पढा रहेनछ। मलाई त धुनधान भो। अब के गर्नु भनेर जानीनजानी अंग्रेजी हेरेँ। केही बुझेको त होइन। जे आउँछ त्यही कोरकार पारेर ओछ्यानमुनि राख्देँ। उहाँले किन राख्या भनेर सोध्दा तपाईंलाई पढाउन राखेको भन्देँ। संस्कृत त सराद्दे गराएर हिँड्नेले पढ्छ भन्दिएपछि उहाँलाई एकदम चोट पर्यो। फस्टबुक पाइन्थ्यो उबेला, मैले त्यही हेरेर पढ्नू भनेँ। अनि बल्ल अंग्रेजी पढ्न जानुभो।’

पढ्न नपाए पनि धनलाई त्योबेला स्कुलमा पढाइने ‘फस्टबुक’ बारे थाहा रहेछ। उनका दाजुहरूले पढेको देखेकी रहिछन्।

यसरी आफ्ना बुबाबाट लुकेरै दुई-तीन वर्ष पढेछन् उनका श्रीमानले। एसएलसी दिनेबेला भने थाहा भएछ।

संस्कृत मात्र पढेकालाई अंग्रेजी पढ्न हौस्याउने धनलाई श्रीमानले धेरै मान दिन्थे रे।

‘त्यस्तो गरेर पढाको मैले उहाँलाई,’ उनले खुसी हुँदै सुनाइन्, ‘पछिसम्म पनि मलाई उहाँले ‘मेरो त गुरू हो नि तिमी’ भन्नुहुन्थ्यो।’

आफ्नो पढ्ने रहर पूरा नभए पनि उनले श्रीमानलाई पढाइन्। छोराछोरीलाई त झन् पढाइमा अलिकति पनि कमी हुन दिइनन्।

उनी गर्व गर्दै भन्छिन्, ‘त्यहीभएर पाँचवटा छोराछोरीलाई एकसे एक पढाएँ। दुइटी डाक्टर भए, दुइटीले एमए गरे। छोरो इन्जिनियर छ।’

त्यसरी आफूले अनेक गरी पढाएका श्रीमानको १९ वर्षअघि हृदयघातका कारण निधन भएछ। धन अहिले छोरा/बुहारीको परिवारसँग ढल्कुमा बस्छिन्। छोरा-बुहारी अफिस जान्छन्। उनी आँखामा चस्मा टाँसेर पत्रपत्रिका र किताब पढेर दिन बिताउँछिन्।

उज्यालो अनुहार लगाउँदै भन्छिन्, ‘मलाई जीवनमा दु:ख भएन।’

कुराकानीको बिट मारेर हिँड्ने बेलामा सोचेँ, ‘उनले पढ्न पनि पाएकी भए…’

साभार: सेतोपाटि

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!