माधब पराजुली,पोखरा
कास्कीको वेगनास तालमा एक हप्ते श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ शुरु भएको छ ।
बेगनासतालको चौतर्फी विकास र तालमा आकस्मिक दुर्घटनामा परि दिवङ्गत भएका मानिसहरुको सम्झना गर्दै शनिवार बाट श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ सञ्चालन गरिएको हो ।
ताल सँगैको पानी लाई प्रवाहित गरि बिभिन्न मनमोहक दृष्यावलोकन केन्द्र निर्माण,तालको पेरिफेरीमा रहेका मठ मन्दिरहरुलाई व्यवस्थापन गर्ने,आपतकालिन उद्धार तथा राहातका सामाग्रीको व्यवस्था लगाएत तालको सौन्दर्यता थप्ने गरि राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । मनमोहक वेगनास तालमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरुको अकर्षणको केन्द्रविन्दु बनाउने गरि महायज्ञ आयोजना गरिएको हो । उक्त महायज्ञ बाट ५ करोड भन्दा बढी रकम उठाउने लक्ष्य लिईएको छ । महायज्ञ बाट संकलित रकम वेगनासतालको चौतर्फी विकासको लागि खर्च गरिने छ । एक हप्ता सम्म सञ्चालन हुने महायज्ञको बाचन कमलनयन गौतमले गर्नुहुनेछ ।
उक्त श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको उद्घाटन गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले वेगनास तालको विकासको लागि प्रदेश सरकारले नयाँ योजना बनाएको बताउदै महायज्ञले सरकारको योजनालाई सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको लागि नितान्त नयाँ कार्ययोजना अगाडि सारेको बताउदै उहाँले गण्डकी प्रदेश लाई तालै तालको शहरको रुपमा विकास गर्ने सरकारको योजना रहेको सुनाउनुभयो । गण्डकी प्रदेशमा रहेका प्रत्येक ताल,तलाउलाई थप व्यवस्थित गर्छौ,मन्त्री लम्सालले भन्नुभयो” पानीको उपभोग गरेर बिदेशी राष्ट्रहरुले पानी बाटै समृद्धि हासिल गरेका छन,हामी जल स्रोतमा कुनै कमी छैनौ,हाम्रो देश जल स्रोतमा धनी छ,हामी पनि जल बाट समृद्धिको दिशामा अगाडि बढ्नुपर्छ” ।
ऐतिहासिक धार्मीक पर्यटकीय स्थलहरुलाई व्यवस्थीत गर्ने सरकारको योजना सुनाउदै उहाँले कालिगण्डकीको तटमा अवस्थित मुक्तिनाथ,मोदीवेणी,सेतीवेणी,देवघाट,त्रिवेणी लगाएतका प्रसिद्ध धार्मीक पर्यटकीय स्थलको प्रवद्र्धन गर्न सरकार लागेको समेत उहाँको भनाई थियो । हिमाल,नदि,ताल तलैया,डाँडाकाडा,टाकुरा,चुचुरा,लेक,वेशी,भञज्याङले देशको गरिमा उच्च बनाएको उहाँको भनाई थियो ।
प्रदेश सभा सदस्य दिपक कोईरालाले विगतका दिनहरुमा पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको बताउदै आगामि दिनहरुमा पर्यटकीय क्षेत्रहरुको विकासको लागि सरकारले ठोस योजना बनाउन ढिलाई गर्न नहुने बताउनुभयो । पर्यटकीय पूर्वाधारहरु लाई पहिलो प्रथामिकतामा पारेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।