कांग्रेस विधानको पक्ष–विपक्षमा छलफल जारी : पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब - News site from Nepal
काठमाडौं |कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका प्रतिनिधि एउटै हुनुपर्नेसहितका मुख्य विषयमा नेताहरूले आ–आफ्ना भनाइ राखिरहेका छन् ।

विधानको मस्यौदा प्रस्तुत हुँदासम्म पौडेल र सिटौला समूहका नेताहरू पदाधिकारी बढाउने पक्षमा थिए । तर, बैठकमा विधानमाथि छलफल हुँदै गर्दा सभापति शेरबहादुर देउवानिकट नेताहरू नै पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेताहरूले गुटगत स्वार्थअनुसार पदाधिकारीका विषयमा अडान लिन खोजे पनि केन्द्रीय सदस्यहरूले गुटगत बहस गरेका छैनन् ।

सभापति देउवा तत्काल पदाधिकारी धेरै नबढाउने पक्षमा छन् । उनीनिकट अधिकांश केन्द्रीय सदस्यहरूले पदाधिकारी बढाउन सुझाब दिएको एक नेताले जानकारी दिए । ‘बाहिर देखिएजस्तो गुटगट आधारमा पदाधिकारी बढाउने गरी लबिङ भएको छैन,’ ती नेताले भने, ‘पहिले रामचन्द्र दाइनिकटका नेताहरू पदाधिकारी बढाउनुपर्छ भन्नेमा थिए । अहिले सभापतिनिकटका नेताहरूले नै खुलेर पदाधिकारी बढाउन सुझाब दिइरहनुभएको छ ।’

नेता बालकृष्ण खाणले केन्द्रीय सदस्य बढाउँदा पदाधिकारी बढाउनैपर्ने अघिल्लो दिन नै बताएका थिए । तर, पौडेल पक्षका नेता बलबहादुर केसीले नेता व्यवस्थापनका लागि संगठनलाई झन् बढी भद्रगोल पार्ने गरी पदाधिकारी बढाउनुको औचित्य पुष्टि गर्न नसकिने बताए । छलफलका क्रममा डा. नारायण खड्काले विधानको प्रस्तावना नै लामो रहेको भन्दै छोट्याउन सुझाए । केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, रत्ना शेरचनले विधानलाई प्रभावकारी कार्यान्वयन गर्न सक्ने बनाएर जानुपर्ने बताएका थिए ।

अझै तीन–चार दिन  छलफल : प्रवक्ता शर्मा
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा अझै तीन चार दिन छलफल हुने जानकारी दिए । ‘आधा केन्द्रीय सदस्यले पनि बोलेर सक्नुभएको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘सम्भवतः बुधबार राजनीतिक प्रस्ताव पनि बैठकमा प्रस्तुत हुन्छ । यसमा पनि छलफल हुँदा बैठक अझै तीन चार दिन लम्बिन्छ ।’

Nayapatrika.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!