‘आफैँलाई विश्वास गरे अपांगताले रोक्दैन’ : भन्छन् पर्वतका फरक क्षमता भएकाहरु - News site from Nepal
संजय रेग्मी
पर्वत :
सोमबार देशभर २७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै छ। दिवसका अवसरमा धेरै कार्याक्रमहरू पनि भए तर पनि अपांगता भएका नागरिकलाई हेर्ने नजरमा अझै पनि आशातित प्रगति हुन सकिरहेको छैन। अपांगता भएकाले राज्यबाट पनि अवमूल्यन भइरहेको भन्न छाडेका छैनन्।
अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजरमा परिवर्तन गर्न अपांगता भएकाहरुले पनि आँपूmहरुलाई कमाजोर नठानी सकेको काम गर्नु आवश्यक छ।अपांगता भएर पनि निरन्तर काम गरेर आफ्नो व्यवसायिक जीवनमा सफल बनेका केही ब्यक्तिले अपांगता भए तापनि सपांगको लागि समेत प्रेरणाको स्रोत बनेका छन्। यस्तै मध्येका एक हुन पर्वतका कानुन व्यवसायी तथा बिभिन्न संघ संस्थामा आवद्ध रहेका भोलानाथ शर्मा। जन्मेको ३ बर्षपछि पोलियो रोगका कारण उनको कम्मरमुनिको भाग कत्ति पनि चल्दैन। तर पर्वतमा कानुन व्यवसायीको खोजी हुँदा शर्माकै नाम धेरैले लिन्छन्। कानुनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका शर्मा ह्विलचियरमै बस्दै अदालतमा पुगेर बहस गर्छन्। ‘अपांगता भएको व्यक्ति हुँ भनेर खुम्चिएर बस्ने हो भने केही गर्न नसकिने रहेछ’ उनको भनाई छ, ‘वकालतदेखि समाजसेवाका काम ह्विल चियरमै बसेर भए पनि गरिरहेको छु। काम गर्ने आँट आउन पर्छ। जुक्ति त जसरी पनि आउने रहेछ।’ शर्मा जस्तै पोलियो रोगकै कारण कम्मर मुनिको भाग नचल्ने अवस्थामा छन् पर्वतको टकलाकका रुक्मांगत न्यौपाने।
उनलाई पनि बच्चा बेलामै पोलियोको संक्रमणले अपांग बनायो। ह्विल चियरको सहायताबिना उनी कत्ति पनि हिँड्न सक्दैनन्। तर ह्विल चियरमै बसी बसी तरकारी खेती गर्दै पर्वतको सफल कृषक बनेर उनले पनि समाजलाई उदाहरण दिएका छन्। समाजका सांग व्यक्तिलाई पनि जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरा प्रमाणित गर्न पाउँदा खुसी लागेको न्यौपानेले सुनाए। ‘हामीमा सोचको अभाव छ। हाम्रै देशका साहित्यकारदेखि सगरमाथा चढ्नेसम्म पनि त अपांगता भएका छन्। उनीहरूले परिस्थितिको सामना गर्दै सफल बन्न सके’ उनले भने। ह्विल चियरमै बसेर करेसाबारी खन्ने। सिंचाइ गर्ने लगायतका धेरै काम उनी आफैले गर्छन्। न्यापानेले थपे, ‘अपांगता भएको मान्छे हुँ। केही गर्न सक्दिन भन्ने सोचेको भए आज मागेर खानुपर्ने अवस्था रहने थियो। तर तरकारी खेतीले सफल भएको छु। वार्षिक २० लाखको कारोबार गर्दै आएको छु।’ पर्वतकै कुश्मा नगरपालिका ११ घर भएका गणेश सुवेदीको खुट्टामा अपांगता भएका कारण उनलाई हिंडडुल गर्न निकै समस्या छ। शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतमा करार दरबन्दीमा कार्यरत सुवेदी अपांगले पनि काम गर्न सक्छन भन्ने देखाउनकै लागि दुःखको गरेर कार्यालय आउजाउ गर्दै आएको बताए।
आजभोलि अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको उनको भनाई छ। ‘हामीले अझै पनि संघर्ष त गरिहरनु परेको छ। तर पहिलेको जस्तो अवस्था छैन। मेरै कार्यालयमा पनि सबै साथीले अपांगमैत्री व्यवहार गर्नुहुन्छ’ उनी थप्छन्, ‘पहिलेको भन्दा अहिले हाम्रो अवस्था ठिक छ।’ सानो बच्चा हुँदा अगेनाको डिलमा सुतिरहेको बेलामा अँगेनामा परेर अपांग बन्न पुगेका अर्का सफल पात्र हुन् अगन्धर तिवारी। उनको जीवनकथा पनि उस्तै दुःखदायी थियो। अहिलेको कुरा गर्ने हो भने हरेक कार्यक्रम, सभा, सम्मेलन, दुर्घटना लगायतका ठाउँमा देखिने पत्रकारमध्ये तिवारी पनि एक हुन्। खुट्टा र हात डढेँका कारण हिँड्न र कम्प्युटरमा बस्न कठिन भए पनि उनको जोशका कारण ती अप्ठ्यारा पन्छिएका छन्। सानैमा कम्प्युटर सिक्न जाँदा कम्प्युटर सिकाउने मान्छेले औँला नभएकाले यो काम गर्न नसक्ने भन्दै फर्काएपछि उनले आँफैले पैसा सापटी लिएर कम्प्युटर खरिद गरेर एक हातले कम्प्युटर चलाएर टेलिभिजन, पत्रिका र अनलाइनमा काम गरिरहेका छन्। तिवारी भन्छन्, ‘यहाँ अपांगता भएका मान्छे छैनन्।
अपांगता सोच भएका कारण अपांगता भएकालाई केही गर्न नसक्ने निरीहको बिल्ला भिराइएको हो। अपांगता भएकासँग फरक क्षमता हुन्छ जुन सामान्य मान्छेको भन्दा तीक्ष्ण हुन्छ। तर अपांगता भएकाले आफूमा रहेको शक्तिको पहिचान गर्न सक्नुपर्छ।’ अपांगता भएका व्यक्तिमा सहास र आँट हुने हो भने अपांगता भएका व्यक्ति पनि समाजमा कहीँ कतै पछाडि नपर्ने यस्तै सफल पात्रको अनुभव छ। अपांगता भएका व्यक्ति कुनै बिशेष काम गर्न असमर्थ रहने पनि अरु धेरै काममा सफल बन्न सक्ने भएकाले अपांगता भएका व्यक्तिले म अपांग छु भन्ने कुरा त्याग्नुपर्ने उनीहरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!