घर वरिपरिका रुखहरु धमाधम काट्दै कुश्मा नगरपालिका - News site from Nepal
घर वरिपरिका रुखहरु धमाधम काट्दै कुश्मा नगरपालिका

पर्वत — बस्ती वरपर ठूल्ठूला रूख र झाडीले ढाकिएपछि वन्यजन्तु र प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै कुश्मा नगरपालिकाले त्यस्ता रूख काट्न सुरु गरेको छ ।

नगरभित्रका हरेक बस्तीदेखि २५ मिटर दूरीका रूख काट्ने नगर कार्यपालिकाको गत असोज २ को बैठकको निर्णय गरेको थियो । उक्त निर्णयअनुसार रूख कटान सुरु गरिएको हो ।

नगरका सबै वडाका रूख चालु आर्थिक वर्षभित्रै काट्न सम्बन्धित सबै वडा कार्यसमिति र सर्वसाधारणलाई सूचना जारी गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘घर वरपर करेसाबारीमा रूख रोपेर धेरैजसो मान्छे सहर पसेका छन्,’ उनले भने, ‘रूख बढेर बाँदर र चितुवाले बस्तीमा हैरान पारेपछि धेरैको गुनासो आयो । आवश्यकताअनुसार रूख कटान गर्ने योजना बनाएका हौं ।’ छिमेकीलाई दु:ख दिन कतिपयले घरवरपर जंगलै हुनेगरी रूख लगाएर छाड्नाले बस्तीको असुरक्षा बढेपछि बाध्य भएर यस्तो निर्णय गरिएको उनले बताए ।

नगरपालिकाले गरेको कदमको वडावासीले सकारात्मक भन्दै स्वागत गरेका छन् । कुश्मा–९ कटुवाचौपारीमा रूख कटान सुरु भएको छ । वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार छेउखन्नाका विष्णु अधिकारीलेआफ्नो खेतमा रहेका रूख कटान गरेपछि आइतबार अभियानको थालनी गरिएको छ ।

अधिकारीको खेतमा रहेका ठूल्ठूला रूखले आसपासको बस्तीमा जोखिम बढाएपछि त्यहींबाट अभियान सुरु गरिएको वडाध्यक्ष लामिछानेले बताए । रूख कटान थाल्न वडाध्यक्षसहित वडा सदस्यहरू पनि सहभागी भए । ‘नगरपालिकाको आदेशबमोजिम वडाले १३ गते निर्णय गरेर ४५ दिने सार्वजनिक सूचना प्रकाशित गरेका छौं,’ लामिछानेले भने, ‘सूचनाबमोजिम विष्णुजीले रूख काटेर हामीलाई सहयोग गर्नुभयो ।’

वडाका सबैजसो बस्तीमा माइकिङ गरिने उनले बताए । कटुवाचौपारीमा करिब ५ सय घरधुरी छन् । हरेक घरको आसपासमा हुने बाँस र डाले घाँस लगायत सबैजसो रूख बुट्यान र झाडी काटिने उनले बताए । वरपीपल र चौतारो जोगाउनै पर्ने भए आवश्यकताअनुसार हाँगा काटछाँट गरेर छाडिने वडाको निर्णय छ ।

कुश्माको ४, ५, ६ र ७ नम्बर वडाबाहेक सबैजसो बस्ती ग्रामीण क्षेत्रमा पर्छन् । कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले पनि निर्णय कार्यान्वयन गर्दा स्थानीयलाई फाइदा हुने बताए । ग्रामीण क्षेत्रमा पर्ने सबैजसो बस्ती ठूल्ठूला रूख र वनजंगलले ढाकेको छ । बस्तीसँगै जंगल बढ्दै गएपछि बाँदर, चितुवा, मुसा र स्याललगायतले दु:ख दिन थालेको भन्दै नगरवासीले पटक–पटक नगरपालिकामा नियन्त्रण गरिदिन माग गर्दै आएका थिए ।

बस्ती आसपासका रूख काटछाँटले खेतीयोग्य जमिनलाई फाइदा पुग्ने स्थानीयले बताएका छन् । ‘रूख बढेपछि उब्जनी हुँदो रहेनछ,’ कटुवाका विष्णु अधिकारीले भने, ‘घारी हटेपछि बस्ती पनि जोगिने, उब्जनी पनि बढ्ने ।’
कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!