पल्टु विदेश जाँदा सीतादेवी गर्भवती थिइन्। उनले गर्भमै छाडेका अमन १० वर्षका भइसकेका छन् भने छोरी पुनिता १५ वर्षकी। पुनिताका अनुसार सीतादवीले अरूको घरमा काम गर्दा वा गाईभैंसीको दूध बेचेर गुजारा गरिराख्दा अरूले गाली गर्थे। आमा बितेपछि काकाहरूले दिदीभाइलाई घरमा बस्न दिएनन्। उनीहरू तीन वर्षदेखि सोहनी खोजबा टोलमा हजुरबुवा बिरजु यादवकहाँ बस्दै आएका छन्।
बिहे भएको केही वर्षमै श्रीमान् विदेश गएपछि छोरीले सास्ती खेप्नुपरेको राजोदेवीले सुनाइन्। ‘कसैसँग बोल्दा वा हाँस्दा चरित्रहीन भनेर गाली गर्थे’, उनले भनिन्, ‘परिवारका सदस्यले यसको सम्बन्ध परपुरुषसँग छ भनेर गाउँभरि हल्ला फैलाएका थिए।’ यस्तै कारणले गर्दा छोरीले विष पिएर ज्यान दिएको उनको भनाइ छ।
उनका अनुसार छोरीको मृत्युपछि दुवै बच्चाको जीवन अन्धकारमय भएको छ। बुवा जिउँदै भए पनि दुवै बच्चालाई टुहुरोको नाम दिएर गाउँघरमा हेला गर्न थालिएको छ।
‘हाम्रो बुवासँगै विदेशमा रहनुभएका काका रामएकवाल यादव बिदा लिएर घर आउनुभएको थियो’, पुनिताले भनिन्, ‘काकालाई गाउँकै केही नातेदारले आमा अरूसँग बस्ने गरेको र उनको चालचलन बिग्रेको भनी कुरा लगाए। काकाले सोही कुरा लिएर आमालाई गाली गर्नुभएको थियो। त्यही रिसले गर्दा आमाले विष खाएर ज्यान दिइन्।’
आर्थिक अवस्था दयनीय रहेकाले सानो घरमा नातिनातिनीसँग जेनतेन दिन काट्दै आएका राजोदेवीले सुनाइन्। मजदुरी गरेर बुढेसकालमा पेट पाल्न धौधौ भएका बेला नातिनातिनीलाई पनि पाल्नुपर्दा समस्या भएको उनको भनाइ छ।
आमा हुँदा पुनिताले गाउँकै विद्यालयमा ४ कक्षासम्म पढिन्। उनी तीन वर्षदेखि विद्यालय गएकी छैनन्। अमन पनि विद्यालय जाँदैनन्। आर्थिक अभावले गर्दा नातिनातिनीलाई पढाउन गाह्रो भएको हजुरबुवा–हजुरआमा बताउँछन्।
अन्नपुर्णबाट साभार