रेल किन्दै सरकार : भाडामा नलिने निश्चित, सञ्चालनको मिति अनिश्चित - News site from Nepal

मंसिर १६, २०७५जनकपुरधाम – सरकारले जनकपुर–जयनगर रुटमा चलाउन रेल किन्ने भएको छ ।

यसअघि भारत सरकारको रेल कम्पनीसँग ‘वेट लीज’ सम्झौता गरेर भाडामा रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर अब सरकार आफ्नै रेल किन्ने निष्कर्षमा पुगेको छ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले सरकारले आफ्नै रेल किनेर सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘पहिले लीजमा रेल चलाउने विषयमा भारतीय पक्षसँग कुराकानी भएको थियो । तर अब सरकारले आफ्नै रेल किनेर सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ महानिर्देशक मिश्रले लोकान्तरसँग भने, ‘त्यसका लागि नेपाल सरकारले भारतीय पक्षसँग कुराकानी अगाडि बढाइसकेको छ ।’

लीजमा रेल भाडा लिएर चलाउँदा महंगो पर्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले रेल किनेर नै चलाउनुपर्ने बताएपछि रेल किन्ने प्रक्रिया अगाडि बढेको उनले बताए । ‘रेल भाडामा चलाएर फाइदा हुँदैन । त्यसैले पनि रेल किन्न लागिएको हो,’ उनले भने ।

सरकारले भारतीय राजदूतमार्फत् भारतीय रेल कम्पनीसँग २ सेट रेल किन्नका लागि कुराकानी अगाडि बढाएपनि ठोस जवाफ नआएको उनले बताए । ‘हाम्रो टोली रेलबारे अध्ययन गर्न भारतको टूरमा पनि गएको थियो । छोटो दूरीको लागि ‘डिजेल इलेक्ट्रोफायरिङ मल्टिपल ओप्सन’ (डीमो) मोडेलको किन्दा उपयुक्त हुने भएकाले सरकारले रेल किन्न तयारी थालेको उनले बताए ।

डीमो मोडेलको रेल किन्दा अगाडि र पछाडि दुवैतिर चलाउन सकिने विशेषता भएकाले रेल घुमाउनु नपर्ने उनले बताए  । उनका अनुसार १ सेट रेलमा एउटा मुख्य इन्जिन र एउटा सहायक इन्जिन हुने गर्छ । ‘हामीले एउटा रेलको लागि ५ वटा प्यासेन्जर कोच (डब्बा अर्थात् बोगी ) किन्ने छौं,’ मिश्रले भने, ‘एउटा डब्बामा ७२ जना यात्रुको सीट र त्यतिकै संख्यामा उभिएर यात्रा गर्न सक्ने क्षमता हुन्छ ।’ २ सेट रेल र १० वटा डब्बा किन्यो भने १ पटकमा ५ सयदेखि ६ सय जनासम्म यात्रुले यात्रा गर्न सक्ने छन् ।

हाल धेरै यात्रुहरू पनि नभएकाले त्यति नै इन्जिन र डब्बा पर्याप्त हुने तथा आवश्यकता पर्यो भने ३ घण्टामा सञ्चालन हुने सेवा १–१ घण्टाको अन्तरालमा सञ्चालन गर्न सकिने विकल्प समेत रहेको उनले बताए ।

१ सेट रेलको मूल्य ५० करोड रुपैयाँ पर्ने र २ सेटको सय करोड रुपैयाँ पर्ने मोटामोटी अनुमान गरिएको छ । भारत सरकारले अनुदानमा रेल निर्माण कार्य गरेको भएपनि रेल किन्न नेपाल सरकार आफैं पनि सक्षम रहेको उनले बताए ।

रेल किन्नका लागि भारतको कोन्कर्ण कम्पनी र राइट्स कम्पनीसँग कुराकानी भइरहेको उनले बताए । ‘नेपाल सरकार र भारत सरकारको तहमा त्यो कुराकानी भइरहेको छ,’ उनले भने, ‘भारतको महाराष्ट्र राज्यको मुम्बईमा कोन्कर्ण कम्पनीको हेडक्वार्टर छ ।’ रेल किन्दा तत्काल जनशक्ति र मर्मतसम्भार समेत त्यहीँ कम्पनीले दिने र ६ महिना वा १ वर्षमा सरकारले जनशक्ति भर्ना गरेर प्रशिक्षित गरिसक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा रेल सञ्जाल अगाडि बढाउन पटक–पटक निर्देशन दिएकाले अहिले तत्काल भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म पहिलो चरणमा रेल सञ्चालनमा आउने छ । त्यसको १ देखि डेढ वर्षभित्रै बर्दिबाससम्म र त्यसपछि बर्दिबासदेखि निजगढसम्म रेल चलाउने सरकारको तयारी तीब्र गतिमा अगाडि बढिरहेको मिश्रले बताए ।

रेल किनेर चलाउने निश्चित भएपनि रेल किन्न लाग्ने समय र रेल सञ्चालक हुने मिति अझै अनिश्चित छ । रेल किन्ने प्रक्रियाबारे नै निश्चित नभएकाले सेवा सञ्चालन हुने विषय अनिश्चित छ ।

विवाह पञ्चमीमा हुँदैन उद्घाटन 

आउँदो मंसिर २६ गते रामजानकी विवाह पञ्चमीका दिन रेल सञ्चालनमा आउने चर्चा चलेको थियो । तर विवाह पञ्चमीका दिन रेल सञ्चालनमा आउने वा उद्घाटन हुने कुनै छाँटकाँट देखिएको छैन ।

‘हाम्रो तयारी के थियो भने विवाह पञ्चमीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट रेल उद्घाटन गरौ । न भए भारत सरकारको केन्द्रीय वरिष्ठ मन्त्रीबाट उद्घाटन गरौ,’ रेल विभागका महानिर्देशक मिश्रले भने, ‘कुराकानी पनि भइरहेको थियो । मोदीजी आउने लगभग तय भइसकेको थियो । तर भारतमा उहाँहरू व्यस्त भई समय मिलाउन नसकेका कारण उहाँहरू आउन नसक्ने भएपछि विवाह पञ्चमीका दिन हुने भनिएको रेलको उद्घाटन स्थगित गरिएको छ ।’

रेल निर्माणको काम पनि पूरा भएको छैन । कतिपय काम सम्पन्न हुन बाँकी नै छ । रेल उद्घाटन हुने यकिन मिति निर्धारण नगरिएको भएपनि छिट्टै रेल उद्घाटन हुने उनले बताए ।

परीक्षणकालमै रेल दुर्घटना 

रेल सञ्चालनमा नआउँदै परीक्षणकालमै रहेको बेला रेल दुर्घटना भइसकेको छ । विभिन्न स्टेसन तथा हल्टमा स्टेसन घर निर्माण हुँदा गुणस्तरहीन सामग्रीको प्रयोग भएको कुरा बेलाबेलामा स्थानीयले आवाज उठाउँदै आएको थियो ।

गत मंगलबार बैदेही स्टेसन र लखौरी गाउँको बीचमा रेल दुर्घटनामा परेको थियो । रेलको परीक्षण हुँदा रेलको चक्का लीगबाट तल झरेको थियो । जनकपुरस्थित रेल्वे विभाग साइट कार्यालयका प्रमुख विनोदकुमार ओझाले भने, ‘रेलको चक्का लीगबाट तल झरेको होइन । चक्काको लक मात्र टुटेर तल झरेको हो ।’

अहिले रेलको लीगलाई गिट्टीले कस्ने काम ‘टेम्पिङ’ पूर्ण नभएकाले प्राविधिक काम भई नै रहेको उनले बताए । ‘अहिले २ पटक मात्र टेम्पिङको काम भएको र तेस्रो पटकको टेम्पिङको काम सकेपछि मात्र रेल ट्रयाक निर्माणको काम पूर्ण हुनेछ,’ इन्जिनियर ओझाले भने, ‘अहिले रेलको ट्रयाक पनि तल–माथि उबडखाबड जस्तो देखिन्छ । तेस्रो टेम्पिङको काम भएपछि ट्रयाक सिधा देखिने छ ।’

अबको ७ देखि १० दिनभित्र टेम्पिङको कामले पूर्णता पाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!